शून्यता र ब्रह्मबीचको संवाद

जीवन महाकाव्य

जन्मदेखि मोक्षसम्मको अनन्त यात्रा — आमाको गर्भदेखि सुरु भएर, अहङ्कार, समाज, कल्पना र नैतिकताका तहहरू छिचोल्दै, हरेक मानिसको साझा कथा बन्न पुगेको एउटा आत्मीय दार्शनिक संवाद।

लेखक — बिजय पोखरेल
प्रस्तावना

सायद जब ब्रह्माण्डको अनन्त अन्धकारमा एउटा सानो ज्योति प्रज्वलित भएको थियो...

सायद जब ब्रह्माण्डको अनन्त अन्धकारमा एउटा सानो ज्योति प्रज्वलित भएको थियो, त्यही सानो ज्योतिबाट हाम्रो अस्तित्वको सुरुवात भएको हुनुपर्छ। अनि हामी पनि त्यही ज्योतिबाट अङ्कुरित भएका हौं, त्यही ज्योतिमा उम्रनेछौं र अन्ततः एकदिन त्यही ज्योतिमै विलीन हुनेछौं। यो अनन्त यात्रा जन्मदेखि मृत्युसम्मको एउटा सरल रेखा मात्र हुँदै होइन, यो त शून्यता र ब्रह्मबीचको एउटा अनन्त संवाद हो।

मलाई अझैपनि प्रस्ट याद छ, चितवन माडीको त्यो सानो घरको आँगनमा उत्तानो परेर आकाशतिर हेर्दै म घण्टौंसम्म नियाल्थें। झरी परिरहेको एक रात आकाशबाट खसेका ती पानीका थोपाहरूले मलाई अनायासै एउटा शाश्वत सत्यको बोध गराए। हामी पानीबाटै आएका हौं र अन्ततः पानीमै समाहित हुन्छौं। ती टल्किएका ताराहरूले मलाई सोधेजस्तै लाग्थ्यो, "तिमी को हौ?" अनि म आफ्नै अन्तरात्मालाई सोध्थें, "मैले कहाँबाट यात्रा सुरु गरें र मेरो अन्तिम गन्तव्य कहाँ हो?" त्यही रात मेरो चेतनामा जीवनको एउटा पूर्ण चक्र प्रस्फुटित भयो। जन्मको पहिलो स्पन्दनदेखि मृत्युको अन्तिम श्वाससम्मको बीचमा रहेका केही सूक्ष्म मोडहरूलाई मैले अक्षरमा उतार्ने निधो गरें। जब लेखिसकेपछि पुनः पढें, तब मलाई महसुस भयो कि यो मेरो मात्र भोगाइ होइन। यो त हरेक मानिसको साझा कथा हो।

त्यो प्रश्नले मलाई कहिल्यै विचलित पार्न छोडेन। मैले अनेकौं पुस्तकहरू पढें, शास्त्रहरूका मन्थन गरें र गुरुहरूका उपदेशमा जवाफ खोज्ने प्रयत्न गरें। तर ती कुनै पनि शब्दले मेरो तृष्णा मेटाउन सकेनन्। एक दिन म पोखराको फेवाताल किनारमा शान्त मुद्रामा बसेको थिएँ। तालको कञ्चन पानीमा मेरै आफ्नै प्रतिबिम्ब देखियो र त्यो प्रतिबिम्बले मलाई सोधेजस्तै लाग्यो, "तिमीले आफूलाई कहिल्यै चिनेका छौ?" त्यही क्षण मलाई बोध भयो, जीवनको सत्य बुझ्न बाहिरी जगत्मा भौंतारिनु पर्दैन बरु आफ्नै अन्तरकुन्तरमा नियाल्नुपर्छ।

त्यसपछि म बिस्तारै बुझ्दै गएँ। जीवन कुनै सरल रेखा होइन, बरु यो त एउटा अनन्त चक्र हो। जन्म, चेतना, अहङ्कार, कर्म, सम्बन्ध, शून्यता, वैराग्य र मोक्ष यी सबै चरण हामी सबैले बाँचिरहेका छौं। कसैले सचेत भएर त कसैले अचेतन रूपमा। बालकको निर्दोष आँखा, किशोरको विद्रोही अहम्, युवाको तीव्र दौड, मध्यम उमेरको शून्यता र वृद्धावस्थाको वैराग्य यी कुनै काल्पनिक सूत्र होइनन्, बरु हामीले दैनिक बाँचिरहेका आफ्नै अनुभूतिहरू हुन्।

यो पुस्तक लेख्दा मैले नेपाली साहित्यका मूर्धन्य स्रष्टाहरूको चेतनालाई आफ्नै अनुभूतिसँग मिसाउने दुस्साहस गरेको छु। लक्ष्मीप्रसाद देवकोटाले जसरी मुनामदन र शाकुन्तल मार्फत ब्रह्माण्डीय विरह र प्रेमलाई साधारण कथामा अटाउनुभयो, यो पुस्तकले पनि जन्मको साधारण रोदनलाई ब्रह्माण्डीय महाकाव्यको रूपमा हेर्ने प्रयत्न गर्छ। बालकृष्ण समको दार्शनिक नाट्य चेतले जसरी जीवनलाई रङ्गमञ्चीय गहिराइ दियो, यसले पनि जीवनका प्रत्येक चरणलाई जीवन्त बनाउन खोज्छ। शङ्कर लामिछानेले अस्तित्वको पीडा र निरीहतालाई जसरी शब्दमा कैद गर्नुभयो, पारिजातले शिरीषको फूलमा शून्यतालाई जसरी एउटा गहिरो चोटका रूपमा छाम्नुभयो र बीपी कोइरालाले मनका गहिरा तहहरू जसरी उत्खनन गर्नुभयो, यो पुस्तकमा ती सबै अद्वितीय चेतनाहरूको एउटा सुन्दर सम्मिश्रण छ। साथै भैरव अर्यालको हास्यभित्रको तीक्ष्ण सत्य र गुरुप्रसाद मैनालीको ग्रामीण यथार्थको सुगन्धले यसलाई अझ बढी धरातलीय बनाएको छ।

यो कुनै सिद्धान्तको ठेली होइन, बरु यो त एउटा आत्मीय संवाद हो। म र तपाईंबीचको अनि तपाईं र अनन्तबीचको। यहाँ कुनै शास्त्रीय उपदेश छैन, केवल एउटा निमन्त्रणा छ। आफ्नो जीवनलाई फेरि एक पटक जन्मदेखि मोक्षसम्म नयाँ दृष्टिले नियाल्नुहोस्।

मेरो दृष्टिमा हरेक मानिसको जीवन एउटा जीवन्त महाकाव्य हो। जसले जन्मको पहिलो क्रन्दन सुनेको छ, जसले प्रेमको पहिलो स्पर्श महसुस गरेको छ, जसले असफलताको चोट सहेको छ र जसले मृत्युको छायाँलाई नजिकबाट देखेको छ, ती सबैको भित्र एउटै प्रश्न गुन्जिरहन्छ, "आखिर यो सबैको सार्थकता के हो?" मैले यसको जवाफ खोज्ने प्रयास गरें। गाउँका अनुभवी वृद्धवृद्धादेखि सहरका जिज्ञासु युवाहरूसम्म, मन्दिरका पुजारीदेखि अस्पतालका शय्यामा छटपटाइरहेका बिरामीहरूसम्म सबैको एउटै निष्कर्ष थियो, "जिन्दगी बाँच्यौ त बाँच्यौ, तर बुझ्न सकेनौं।" त्यही बुझाइको अभावमा हामी दौडिरहन्छौं, सङ्ग्रह गरिरहन्छौं, प्रेम गरिरहन्छौं र अन्ततः नितान्त एक्लो भएर सोधिरहन्छौं, "के यही मात्र थियो त जीवन?"

यो पुस्तक त्यही प्रश्नको तयारी उत्तर होइन, बरु त्यो प्रश्नलाई अझ गहिरो गरी मन्थन गर्ने एउटा माध्यम हो। जब तपाईंले यी हरफहरू पढ्नुहुनेछ, "हामी रगत, मांसपेशी र हड्डीमा बाँधिनुभन्दा धेरै अगाडि एउटा मौनता थियौं।" तब तपाईं आफ्नै अस्तित्वको आदिम स्मृतिमा फर्कनुहुनेछ। यो कुनै विशिष्ट धर्मको दस्तावेज होइन, बरु यो त समस्त धर्महरूको साझा सत्यको प्रतिध्वनि हो।

यो पुस्तक लेख्दा मेरो मनमा एउटै सङ्कल्प थियो। यो पढिसकेपछि हरेक पाठकले आफ्नै मुटुमा हात राखेर भन्न सकोस्, "हो, यो त मेरै जीवनको कथा हो।"

के तपाईं पनि कहिल्यै रातको सन्नाटामा एक्लै बसेर सोच्नुहुन्छ, आखिर यो सबै किन? यो दौड, यो प्रेम, यो सङ्घर्ष र यो शून्यता यी सबैको अन्तिम अर्थ के हो? के तपाईं पनि आफ्नो जीवनलाई फेरि एक पटक जन्मदेखि मोक्षसम्म नयाँ दृष्टिले नियाल्न तयार हुनुहुन्छ?

भाग १ — अस्तित्वको प्रारम्भ
अध्याय १

अस्तित्वको प्रारम्भ: आमाको गर्भ, श्वासको सुरुवात र पृथ्वीमा पहिलो पाइला

हामी रगत, मांसपेशी र हड्डी बन्नुभन्दा धेरै अगाडि एउटा मौनता थियौं। आमाको गर्भ केवल मासुको एउटा थैलो होइन, यो त सम्पूर्ण ब्रह्माण्डको शून्यता र शान्तिले बास गर्ने अन्तिम सुरक्षित मन्दिर हो। त्यहाँ कुनै प्रकाश थिएन, तर अन्धकारको पनि कुनै डर थिएन। त्यहाँ कुनै समय थिएन, मात्र एउटा आदिम लय थियो आमाको मुटुको निरन्तर धड्कन। त्यो धड्कन नै हाम्रो अवचेतन मनले सुनेको समयको पहिलो सङ्गीत थियो। त्यहाँ न रूपको चिन्ता थियो, न भोकको सङ्घर्ष। हामी अस्तित्व थियौं, तर व्यक्ति बनिसकेका थिएनौं। त्यो एउटा यस्तो पूर्णताको अवस्था थियो, जहाँ केही पाउनु थिएन र केही गुमाउने डर पनि थिएन। पूर्वीय दर्शनले भोलि गएर जसलाई मोक्ष भन्छ, सायद भौतिक रूपमा हामीले त्यो मोक्षलाई आमाको गर्भमै बाँचिरहेका थियौं। तर प्रकृतिको नियम क्रूर छ र उत्तिकै सुन्दर पनि। जन्मनु भनेको एउटा सुरक्षित स्वर्गबाट निर्वासित हुनु हो। जब गर्भाशयको त्यो न्यानो पर्खालले हामीलाई बाहिर धकेल्छ, त्यो सङ्घर्षले जीवनको पहिलो सङ्घर्ष सिकाउँछ। जब बाहिरी संसारको तीखो प्रकाशले पहिलोफटक हाम्रा बन्द आँखाहरूमा प्रहार गर्छ र अपरिचित कोलाहल कानमा ठोक्किन्छ, हामी आत्तिन्छौं। चिसो हावाले जब पहिलोपटक हाम्रो भिजेको छालालाई छुन्छ र फोक्सोमा बलजफ्ती अक्सिजन पस्छ, छाती नराम्रोसँग पोल्छ। अनि हामी पहिलोपटक चिच्याउँछौं। त्यो रुवाइ केवल श्वासप्रश्वासको सुरुवात थिएन, त्यो त ब्रह्माण्डको एउटा अभिन्न अंशबाट चुँडिएर एक्लो भएको आत्माको पहिलो विलाप थियो। सालनाल काटिँदा हामीले भौतिक रूपमा मात्र आमाको शरीरलाई छोड्दैनौं, बरु हामी अनन्तकालको लागि म भने एउटा छुट्टै र एक्लो टापुमा परिणत हुन्छौं। यही विच्छेद नै मानिसको सबैभन्दा ठूलो र गहिरो मनोवैज्ञानिक घाउ हो। पृथ्वीको गुरुत्वाकर्षणले पहिलोपटक हाम्रो सानो, लाचार शरीरलाई आफूतिर तान्छ। त्यो तौल नै हाम्रो जीवनभर बोक्नुपर्ने भारीको सुरुवात हो। अब हामीले यो निष्ठुर माटोमा टेक्न सिक्नु छ, लड्नु छ, रुनु छ र फेरि उठ्नु छ।

आमाको काखमा पहिलोपटक थारिँदा हाम्रा साना हातले हावामा केही खोजिरहेका थिए। ती हातले अझै ब्रह्माण्डको न्यानोपन सम्झिरहेका थिए। तर बाहिरको हावा चिसो थियो र त्यसले हामीलाई बारम्बार झक्झक्याउँदथ्यो। आमाको स्तनबाट दूधको पहिलो थोपा ओठमा तर्किंदा हामीले जीवनको पहिलो स्वाद चाख्यौं। त्यो स्वाद मीठो थियो, तर त्यसमा एउटा अदृश्य पीडा मिसिएको थियो निर्वासनको पीडा। हामीले आमाको मुटुको धड्कन सुन्दै गर्दा पनि बाहिरी संसारको आवाजले हामीलाई बारम्बार सम्झाइरहन्थ्यो कि अब हामी एक्ला छौं।

बिस्तारै हाम्रा आँखाहरू खुल्न थाले। पहिले तिनले केवल प्रकाश र अन्धकारको भेद मात्र बुझ्थे। तर दिनहरू बित्दै जाँदा ती आँखाले आमाको अनुहार, बुबाको मुस्कान र खाटमाथि झुन्डिएको झुत्लालाई चिन्न थाले। हरेक चोटि हामी रोएर आमालाई बोलाउँदा उनी हामीलाई काखमा थार्थिन् र एउटा पुरानो लोकगीत गाउँथिन्। त्यो गीतको लयले हामीलाई फेरि गर्भको मौनतातिर फर्कउँथ्यो। तर गीत सकिनासाथ बाहिरी संसार फेरि आक्रमण गर्थ्यो कुकुरको भुकाइ, गाडीको हर्न र हावाको सनसनी।

जब हामीले पहिलोपटक घोटिएर उठ्ने प्रयास गर्यौं, हाम्रो शरीरले पृथ्वीको गुरुत्वाकर्षणलाई पूरै महसुस गर्यो। हातहरू कमजोर थिए, खुट्टाहरू अझै लुला थिए। तर त्यो प्रयासमा एउटा अनन्त इच्छाशक्ति लुकेको थियो। लड्यौँ, रोयौँ, फेरि प्रयास गर्यौँ। आमाले हामीलाई सम्हाल्दै भन्नुहुन्थ्यो, "ढिलो हुँदैन बाबु।" तर हामीले बुझ्न थालिसकेका थियौं यो संसारमा ढिलो वा चाँडो केही छैन, केवल निरन्तर प्रयास छ।

पहिलो पाइला चाल्दा हाम्रो सानो खुट्टाले माटोको चिसोपन महसुस गर्यो। त्यो माटो कठोर थियो, तर त्यसमा जीवनको बीज लुकेको थियो। हामीले त्यही माटोमा पहिलोपटक आफ्नो छाप छोड्यौँ। त्यो छाप सानो थियो, तर त्यसले हामीलाई एउटा सत्य बताइरहेको थियो अब हामी यो पृथ्वीको अभिन्न अंश भइसकेका छौं।

यो यात्राको सुरुवातमा हामीले केही पनि मागेका थिएनौं। केवल न्यानो आश्रय, एउटा स्पर्श र एउटा धड्कन। तर प्रकृतिले हामीलाई बिस्तारै सिकाउँदै लगी अस्तित्व भनेको सङ्घर्ष हो, तर त्यही सङ्घर्षमा लुकेको छ अनन्तको आनन्द।

के तपाईं अझै कहिलेकाहीं आमाको काखको त्यो न्यानोपन सम्झनुहुन्छ र सोच्नुहुन्छ यो यात्राको अन्तिम गन्तव्य फेरि त्यही शून्यता हो कि अर्को नयाँ ब्रह्माण्ड?

अध्याय २

चेतनाको उदय: आफू र आफ्नो वरपरको संसार बिस्तारै महसुस गर्न थाल्नु

बिस्तारै हाम्रा आँखाहरूले संसारलाई चित्र थाले। पहिले त तिनले केवल उज्यालो र अँध्यारोको भेद बुझ्थे। तर अब ती आँखाले आमाको मुस्कानमा लुकेको प्रेम, बुबाको हातको स्पर्शमा लुकेको सुरक्षा र घरको आँगनमा फुलेको फूलको रङलाई बुझ्न थाले। हामीले आफ्ना साना हातलाई हेर्यौँ र एउटा अद्भुत कुरा महसुस गर्यौँ। यो हात मेरो हो। यो औंला मेरो हो। यो छाला मेरो हो। त्यही क्षण म भन्ने चेतना जागृत भयो। ब्रह्माण्डको अनन्त अन्धकारमा एउटा सानो ज्योति बलेजस्तै हाम्रो भित्र पनि एउटा सानो चेतनाको ज्योति बल्न थाल्यो।

आमाले हामीलाई आँगनमा राखिदिँदा हामीले घाँसको हरियोपन छाम्यौँ। घाँसको डाँठले हाम्रो हत्केलालाई छुनेबित्तिकै हामीले महसुस गर्यौँ, यो संसार मेरो वरपर मात्र होइन म पनि यसको अभिन्न अंश हुँ। आकाशबाट खसेको पानीको थोपा हाम्रो अनुहारमा झर्दा हामीले चिसोपनको अर्थ बुझ्यौँ। सूर्यको किरणले हाम्रो छालालाई तताउँदा हामीले न्यानोपनको अर्थ बुझ्यौँ। हरेक वस्तुले हामीलाई एउटा नयाँ पाठ सिकाइरह्यो। काठको खेलौना समात्दा हामीले कठोरता चिन्यौँ। कपासको सिरानी छाम्दा नर्मता चिन्यौँ। संसार बिस्तारै हाम्रो लागि एउटा जीवन्त किताब बन्दै गयो।

एक दिन हामीले आँगनमा राखिएको ऐनामा आफ्नो अनुहार देख्यौँ। पहिले त हामीले त्यसलाई अर्को बच्चा ठान्यौँ। हात बढाएर छुन खोज्यौँ। तर जब हाम्रो औंला ऐनामा ठोक्कियो तब हामी छक्क पर्यौँ। यो मेरो अनुहार हो। यो मेरो आँखा हो। यो मेरो मुस्कान हो। त्यही क्षण हामीले आफूलाई बाहिरको संसारबाट अलग महसुस गर्यौँ। म र अरू बीचको सीमा स्पष्ट हुँदै गयो। तर यो सीमा कति नाजुक थियो भने एउटा सानो हावा चल्दा, एउटा नयाँ आवाज सुन्दा वा एउटा अपरिचित अनुहार देख्दा हामी फेरि आमाको काखतिर फर्कन्थ्यौँ।

बुबाले हामीलाई काखमा बोकेर घरको छतमा लग्दा हामीले पहिलोपटक ताराहरू देख्यौँ। ती टल्किएका बिन्दुहरूले हामीलाई प्रश्न गरेझैँ लाग्थ्यो, तिमी को हौ? हामीले आफ्नो सानो औंला उठाएर तारातिर देखायौँ। बुबाले हाँस्दै भन्नुभयो, तारा हो बाबु। तर हाम्रो भित्र ती ताराहरूले एउटा गहिरो प्रश्न छोडिदिए, के म पनि यो ब्रह्माण्डको एउटा सानो तारा हुँ? यो चेतनाको उदय नै ब्रह्माण्डको आफैँलाई चिन्ने सुरुवात थियो। हामी साना थियौँ, तर हाम्रो चेतना अनन्तसँग जोडिँदै थियो।

दिनहरू बित्दै जाँदा हामीले शब्दहरू सिक्यौँ। आमा भन्दा आमाको अनुहार उज्यालो हुन्थ्यो। बुबा भन्दा बुबाको छाती फुल्थ्यो। दूध भन्दा हाम्रो मुख रसाउँथ्यो। हरेक शब्दले हामीलाई संसारसँग जोडिरहेको थियो। तर हरेक शब्दले एउटा नयाँ जिज्ञासा पनि जन्माइरहेको थियो। किन आकाश नीलो छ? किन पानी बग्छ? किन फूल फुल्छ? यो जिज्ञासा नै चेतनाको पहिलो पाइलो थियो, आफूलाई बुझ्ने र वरपरको संसारलाई बुझ्ने।

हामीले डर पनि चिन्यौँ। अँध्यारो कोठामा एक्लै छोड्दा हामी रोयौँ। अपरिचित मानिसले हात बढाउँदा हामी आमाको काखमा लुक्न खोज्यौँ। तर त्यही डरले हामीलाई सिकायो, यो संसार मित्रपूर्ण मात्र होइन रहस्यमय पनि छ। अनि त्यही रहस्यले हामीलाई अझ गहिरो चेतनातिर डोर्यायो।

यो चेतनाको उदय सानो कुरा थिएन। यो त ब्रह्माण्डले आफ्नै एउटा सानो अंशमा आफैँलाई हेर्न थालेको क्षण थियो। हामीले आफूलाई चिन्न थाल्यौँ र संसारलाई पनि चिन्न थाल्यौँ। तर यो चिनाइ अझै अधुरो थियो। अझै धेरै प्रश्न बाँकी थिए। अझै धेरै रहस्य लुकेका थिए।

के तपाईंले कहिल्यै सोच्नुभएको छ, यो म को पहिलो स्पन्दन ब्रह्माण्डको आफैँलाई चिन्ने अनन्त प्रयासको सुरुवात मात्र हो कि यो यात्रा फेरि शून्यतामै फर्किने तयारी पनि हो?

अध्याय ३

निर्दोषता र अनभिज्ञता: पाप र पुण्य अनि सही र गलत केही थाहा नभएको सफा मन

हामीले हिँड्न त सिक्यौँ तर बाटो कुन सही र कुन गलत भन्ने सिकिसकेका थिएनौँ। हाम्रो मन एउटा त्यस्तो सफा ऐना थियो जसमा कुनै दाग थिएन। त्यहाँ न पापको डर थियो न पुण्यको लोभ। हाम्रो लागि आँगनको हिलो माटो र पूजाको थालीमा राखिएको प्रसाद दुवै समान थिए। देउताको मूर्तिलाई फोहोर हातले छुँदा हामीलाई कुनै पाप लाग्छ भन्ने थाहा थिएन किनभने हाम्रो भित्रको चेतना पूर्ण रूपमा निष्कलङ्क थियो। पूर्वीय दर्शनले जुन अद्वैत अवस्थालाई प्राप्त गर्न जीवनभरको तपस्या चाहिन्छ भन्छ, हामी त्यही अद्वैत अवस्थालाई आफ्नै आँगनमा बाँचिरहेका थियौँ। हाम्रो दृष्टिमा राम्रो र नराम्रो भन्ने दुईवटा सत्य थिएनन्, केवल एउटा अखण्ड ब्रह्माण्ड थियो।

भित्तामा बलिरहेको टुकीको पहिलो उज्यालोले हामीलाई असाध्यै लोभ्याउँथ्यो। हामी त्यो बलिरहेको आगोलाई एउटा सुन्दर फूल सम्झेर छुन हात अघि बढाउँथ्यौँ। आगोले पोल्छ र यसले विनाश गर्छ भन्ने कुरा हाम्रो चेतनामा थिएन। आमाले हत्तपत्त हात तानेर हप्काउँदा हामी रुन्थ्यौँ। हामीलाई आगोको रापले होइन आमाको हप्काइले पोल्थ्यो। हामीलाई के थाहा आगो र पानीबीचको भेद। हाम्रो लागि त यो सम्पूर्ण जगत् नै एउटा खेल्ने मैदान थियो। त्यहाँ कुनै खतरा थिएन, मात्र एउटा अनन्त कौतूहल थियो। हामीले भान्सामा राखिएको तातो ताप्केलाई पनि एउटा खेलौना नै ठान्यौँ र धारिलो हँसियाको चमकले पनि हामीलाई त्यतिकै आकर्षित गर्थ्यो। ती सबै वस्तुहरू केवल रङ र आकार मात्र थिए, तिनको पछाडि लुकेको उपयोगिता वा खतरा हाम्रो समझभन्दा बाहिर थियो।

भुइँमा हिँडिरहेको कमिलालाई हामीले निकै अचम्म मानेर हेर्यौँ। कहिले त्यसलाई औंलाले छोपेर बाटो छेक्थ्यौँ त कहिले त्यसैको पछि पछि लाग्थ्यौँ। त्यसलाई मार्दा पाप लाग्छ वा बचाउँदा धर्म हुन्छ भन्ने कुनै तराजु हाम्रो मनमा थिएन। हामी केवल खेलिरहेका थियौँ। हाम्रो त्यो निर्दोषिता प्रकृतिको आदिम नियमसँग जोडिएको थियो जहाँ न कोही अपराधी हुन्छ न कोही सन्त। भोक लाग्दा रुनु र निद्रा लाग्दा सुत्नुबाहेक हाम्रो अर्को कुनै धर्म थिएन। आकाशबाट खसेको असिनालाई मुखमा हाल्दा त्यसले बिरामी बनाउँछ भन्ने हामीलाई थाहा थिएन। हामीले त केवल पानीको एउटा कडा र चिसो रूपलाई स्वादमा बदलिरहेका थियौँ। गाउँको बाटोमा हिँड्ने कुकुरलाई तानेर जिस्क्याउँदा त्यसले टोक्छ भन्ने डर थिएन, किनकि हामीले भयको भाषा सिकिसकेका थिएनौँ।

तर बिस्तारै समाजले हामीलाई पाठ सिकाउन थाल्यो। यो गर्नु हुन्छ र त्यो गर्नु हुँदैन। यो छोए पाप लाग्छ र त्यो खाए धर्म हुन्छ। हाम्रो त्यो ब्रह्माण्डीय शून्यतालाई समाजका नियमहरूले भर्न थाले। हामीले मानिसका अनुहार हेरेर मुस्कुराउन मात्र होइन डराउन पनि सिक्यौँ। कुन मानिस आफ्नो र कुन पराई भन्ने भेदले हाम्रो सफा मनमा पहिलोपटक अहङ्कारको बिउ रोपिदियो। ज्ञानको नाममा हामीले वास्तवमा आफ्नो त्यो आदिम निर्दोषिता गुमाउँदै थियौँ। हामीले जति धेरै कुरा सिक्दै गयौँ, हाम्रो मनको त्यो सफा ऐनामा त्यति नै धेरै धमिलोपन थपिँदै गयो।

हामीले लगाएको लुगा च्यातिएँदा वा फोहोर हुँदा हामीलाई कुनै लाज लाग्दैनथ्यो। हाम्रो शरीर प्राकृतिक थियो र प्रकृतिलाई लाज हुँदैनथ्यो। तर जब आमाले हप्काएर नयाँ लुगा लगाइदिनुभयो र भन्नुभयो कि यसरी नाङ्गै हिँड्न हुँदैन, तब हामीले पहिलोपटक समाजको कृत्रिम पर्खालभित्र आफूलाई थुन्यौँ। त्यो क्षणदेखि हाम्रो निर्दोषिता माथि नैतिकताको आवरण चढ्न थाल्यो। हामीले यो संसारका द्वैत स्वरूपलाई स्वीकार गर्न थाल्यौँ। उज्यालो र अँध्यारो, राम्रो र नराम्रो, सुख र दुःख यी सबै कुराहरू अब हाम्रा लागि सत्य बनेर उभिन थाले।

के तपाईंलाई कहिल्यै लाग्दैन, हामीले सही र गलतको यो भारी बोक्न थालेपछि नै जिन्दगीको असली सौन्दर्य गुमायौँ? के यो पाप र पुण्यको पर्खाल भत्काएर फेरि त्यही निर्दोष शून्यतामा फर्कन सम्भव छ जहाँ अस्तित्व बाहेक अर्को कुनै सत्य थिएन?

अध्याय ४

आश्रय र निर्भरता: बाँच्नका लागि पूर्ण रूपमा आमाबुबा र परिवारको सहारा

प्रकृतिको रङ्गमञ्चमा मानिसको जन्म एउटा विचित्रको दार्शनिक विरोधाभास हो। चेतनाको शिखरमा पुगेको दाबी गर्ने मानिस भौतिक रूपमा भने सबैभन्दा लाचार र असहाय प्राणी बनेर यो पृथ्वीमा खस्छ। गोठमा भर्खरै जन्मिएको बाच्छोले केही छिनमै आफ्नै खुट्टामा उभिएर आमाको थुन खोज्न थाल्छ तर हामी महिनौँसम्म आफ्नै टाउकोको भारसमेत थाम्न नसक्ने निरीह मासुको डल्लो मात्र थियौँ। हाम्रो अस्तित्व पूर्ण रूपमा अरूको दया, प्रेम र स्याहारको भिखमा अडिएको थियो। हामीसँग न आफ्नो भोक मेटाउने कुनै उपाय थियो न चिसोबाट जोगिने कुनै आवरण। हाम्रो प्राणको मियो आमाको न्यानो छाती र बुबाको बलियो पाखुरामा झुन्डिएको थियो। यो शारीरिक असहायपन केवल जैविक कमजोरी थिएन, बरु यो त ब्रह्माण्डले मानिसलाई सिकाएको पहिलो र सबैभन्दा क्रूर दार्शनिक पाठ थियो, तिमी एक्लै पूर्ण छैनौ र तिम्रो अस्तित्व अझै पनि तिम्रो आफ्नो नियन्त्रणमा छैन।

आमाको काख हाम्रो लागि केवल आश्रय थिएन, त्यो त सम्पूर्ण ब्रह्माण्डको सबैभन्दा सुरक्षित किल्ला थियो जहाँ मृत्युले पनि प्रवेश गर्न डराउँछ भन्ने हाम्रो अवचेतन विश्वास थियो। चुल्होमा दाउरा बाल्दा उठेको धुवाँ, गाईको दूध र आमाको पसिना मिसिएको त्यो गन्ध नै हाम्रो लागि जीवनको सबैभन्दा प्रिय सुगन्ध थियो। जाडोको कठ्याङ्ग्रिने रातमा जब चिसो हावाले दलिनको प्वालबाट भित्र पस्ने दुस्साहस गर्थ्यो, आमाको पुरानो मजेत्रोभित्र गुटुमुटुँदा हामीले स्वर्गको न्यानोपन महसुस गर्थ्यौँ। आमा एक छिन डोको बोकेर पँधेरोतिर वा घाँस काट्न पाखोतिर लाग्दा पिँढीमा गुन्द्रीमाथि एक्लै छोडिएका हामी जसरी चिच्याएर रुन्थ्यौँ, त्यो केवल भोक वा चिसोको रुवाइ थिएन। त्यो त आफ्नो प्राणको आधार नै आफूबाट टाढिँदा उत्पन्न भएको गहिरो अस्तित्वगत सङ्कटको चित्कार थियो। आमा नहुँदा यो पृथ्वी, यो आकाश र यी भित्ताहरू सबै हामीलाई निल्न आउने अभ्यान्तर जस्ता लाग्थे। हाम्रो सम्पूर्ण संसार त्यही एउटा अनुहारमा खुम्चिएको थियो र त्यो अनुहार ओझेल पर्नेबित्तिकै हाम्रो ब्रह्माण्ड भताभुङ्ग हुन्थ्यो।

बुबाको उपस्थिति हाम्रो लागि एउटा विशाल पहाड जस्तै थियो जसले बाहिरी संसारका सबै हूरीबतासलाई छेकिदिन्थ्यो। खेतको हिलो र माटोले कोरिएका तथा विडाइ फुटेका बुबाका खस्रा कुर्कुच्चा र औंलाहरू समातेर आँगनमा उभिँदा हामीलाई लाग्थ्यो, अब यो संसारको कुनै पनि शक्तिले हामीलाई लडाउन सक्दैन। उहाँका ती बलिया हातहरूले हामीलाई हावामा उचाल्दा हामी गुरुत्वाकर्षणको नियमलाई नै बिर्सेर शून्यमा तौसिन्थ्यौँ। हाम्रो बालसुलभ मस्तिष्कले बुबालाई कहिल्यै नथाक्ने, कहिल्यै नहार्ने र मृत्युलाई पनि जित्न सक्ने सर्वशक्तिमान् ईश्वरको रूपमा पूजेको थियो। भान्सामा कहाँबाट चामल आउँछ, आङमा लगाउने भोटो कसरी सिलाइन्छ र बिरामी पर्दा खुवाइने तीतो जडीबुटी कसरी जुट्छ भन्ने कुराको हामीलाई कुनै चिन्ता थिएन। हामीले त केवल माग्न जानेका थियौँ र हाम्रा हरेक इच्छाहरू पूरा गरिदिने ती दुई जादुगरहरू हाम्रा अगाडि सधैँ हाजिर हुन्थे।

हाम्रो त्यो पूर्ण निर्भरता वास्तवमा एउटा गहिरो र निस्वार्थ समर्पण थियो। हामीले आफूलाई पूर्ण रूपमा सुम्पिएका थियौँ किनकि हामीमा म भन्ने अहङ्कारको बाक्लो पर्खाल खडा भइसकेको थिएन। जहाँ अहङ्कार हुँदैन त्यहाँ समर्पण प्राकृतिक हुन्छ र जहाँ समर्पण हुन्छ त्यहाँ कुनै सन्देह हुँदैन। हामीले कहिल्यै आमाको दूधमाथि शङ्का गरेनौँ, न त बुबाको सुरक्षामाथि नै प्रश्न उठायौँ। विश्वासको त्यो उच्चतम बिन्दु सायद हामीले जीवनमा फेरि कहिल्यै प्राप्त गर्न सकेनौँ। हामी जति हुर्कँदै गयौँ, हाम्रो आत्मनिर्भरता जति बढ्दै गयो, हामीभित्र त्यति नै सन्देह, अविश्वास र भय पनि हुर्कँदै गयो। आज हामी आफैँ कमाउँछौँ, आफैँ घर बनाउँछौँ र आफैँ सुरक्षाका पर्खालहरू ठड्याउँछौँ, तर त्यो बाल्यकालको जस्तो निश्चिन्त निद्रा अब हाम्रा आँखाहरूमा कहिल्यै आउँदैन किनकि अब त्यो न्यानो काख र बलियो पाखुराको विश्वास हामीबाट सदाका लागि खोसिएको छ।

दार्शनिक रूपमा मन्थन गर्दा यो आश्रय र निर्भरता नै मानिसको सबैभन्दा ठूलो मनोवैज्ञानिक घाउ पनि रहेछ। बाल्यकालमा आमाबुबामाथि गरिएको त्यो पूर्ण निर्भरताले हाम्रो अवचेतन मनमा एउटा यस्तो अम्बल बसालिदियो जसको खोजीमा हामी जीवनभर भौंतारिरहन्छौँ। हामी ठूलो भएपछि त्यही हराएको सुरक्षा र आश्रय खोज्न कहिले मन्दिरका ढुङ्गे देउताहरूको शरणमा पुग्छौँ, कहिले प्रेमी वा प्रेमिकाको अङ्गालोमा त्यो न्यानोपन खोज्छौँ त कहिले सम्पत्ति, पद र शक्तिको आडमा आफूलाई सुरक्षित महसुस गराउन खोज्छौँ। तर ती कुनै पनि कुराले आमाको त्यो मजेत्रो र बुबाको त्यो खस्रो औंलाको जस्तो पूर्ण सुरक्षा दिन सक्दैनन्। हामीले बुझ्नै सकेनौँ कि त्यो भौतिक निर्भरता त केवल जीवनको एउटा छोटो चरण मात्र थियो। प्रकृतिले हामीलाई बिस्तारै एक्लै बँच्न, एक्लै लड्न र अन्ततः नितान्त एक्लै मर्नको लागि तयार गरिरहेको थियो।

अस्तित्व आफैँमा एउटा नितान्त एक्लो यात्रा हो तर हामीले जीवनको सुरुवात नै अरूको सहाराबाट गर्नुपरेकाले हामीलाई एक्लोपन सधैँ भयानक लाग्छ। परिवारको त्यो आश्रयले हामीलाई बँच्न त सिकायो, तर सँगसँगै यसले हामीलाई एकान्तको शून्यतामा एक्लै रमाउन नसक्ने आश्रित र त्रसित प्राणी पनि बनाइदियो। हामी जीवनभर त्यही हराएको स्वर्ग खोज्दै दौडिरहन्छौँ तर त्यो स्वर्ग अब कहिल्यै फर्किनेवाला छैन।

के तपाईंलाई लाग्दैन, आज हामीले बाहिरी संसारमा खोजिरहेको ईश्वर, धर्म, प्रेम र सम्पत्ति सबै त्यही बाल्यकालमा गुमेको आमाबुबाको न्यानो आश्रयलाई फर्काउने हाम्रो एउटा असफल र अचेतन प्रयास मात्र हो? के हामी कहिल्यै साँच्चै नै आफैँभित्र पूर्ण हुन सक्छौँ, वा यो विशाल ब्रह्माण्डमा हामी सधैँ त्यही निरीह र असहाय शिशु नै हौँ जसलाई केवल एउटा न्यानो काखको अनन्त तिर्सना छ?

अध्याय ५

बालसुलभ जिज्ञासा: हरेक कुरामा यो के हो र किन भन्ने कौतूहल

शारीरिक रूपमा हामी बिस्तारै आमाबुबाको काखबाट ओर्लेर आँगनको माटोमा बामे सर्न थाल्यौँ। हातखुट्टाले जमिन टेकेसँगै हाम्रो चेतनाले पनि ब्रह्माण्डका रहस्यहरूलाई छाम्न थाल्यो। हाम्रो मस्तिष्कमा एउटा नयाँ भोक जाग्न थाल्यो। त्यो भोक पेटको थिएन, त्यो भोक त जान्ने र बुझ्ने आदिम तिर्सना थियो। हामीले बोल्न सिक्नेबित्तिकै सिकेको सबैभन्दा शक्तिशाली हतियार त्यही एउटा सानो प्रश्न थियो, यो के हो? जब हामीले आँगनको छेउमा फुलेको सयपत्री फूललाई औंलाले देखाएर यो के हो भनेर सोध्यौँ, त्यो केवल एउटा शब्दको खोजी थिएन। त्यो त एउटा अज्ञात ब्रह्माण्डलाई आफ्नो सानो चेतनाको घेराभित्र ल्याउने हाम्रो पहिलो दार्शनिक प्रयास थियो। हामी प्रत्येक कुराको नाम जान्न चाहन्थ्यौँ। हामीलाई लाग्थ्यो नाम जानेपछि त्यो वस्तु आफ्नो मुठीमा आउँछ। एउटा विशाल र रहस्यमय रुखलाई जब हामीले रुख भन्न सिक्यौँ, तब त्यो हाम्रो लागि सामान्य बन्न पुग्यो। नाम राख्नु भनेको वास्तवमा अनन्तलाई एउटा सानो सीमाभित्र कैद गर्नु रहेछ। तर त्यो बेला हामीलाई त्यस्तो कुनै दार्शनिक जटिलता थाहा थिएन। हामी त केवल संसारलाई आफ्नो चिनाजानको परिधिभित्र तान्न हतारिएका थियौँ।

हाम्रो त्यो बालसुलभ जिज्ञासा कुनै ठूलो प्रयोगशालामा होइन हाम्रै गाउँको गोरेटो, दलिन र पिँढीमा प्रस्फुटित भएको थियो। भित्ताको कुनामा माकुराले जालो बुनेको हेर्दा हामी घण्टौंसम्म टोलाउँथ्यौँ। एउटा सानो जीवले कसरी त्यति सुन्दर घर बनाउन सक्छ भन्ने आश्चर्यले हाम्रो आँखा च्यातिन्थ्यो। भुइँमा चामलको गेडा बोकेर हिँडिरहेको कमिलाको ताँतीलाई हामी औंलाले छेक्थ्यौँ र तिनले बाटो बिराएको हेरेर रमाउँथ्यौँ। पानी परेको बेला आँगनको खाल्डोमा जमेको पानीमा ढुङ्गा फ्याँक्दा उठ्ने छालहरू गन्दै हामी पानीको स्वभाव बुझ्ने कोसिस गर्थ्यौँ। राति पिँढीको गुन्द्रीमा बसेर आकाशतिर हेर्दै गर्दा हामीलाई ती चम्किरहेका ताराहरू कसैले टाँसिदिएका बत्ती जस्ता लाग्थे। हामीले जुनकिरीलाई हत्केलामा थुनेर त्यसको उज्यालो कहाँबाट आउँछ भनेर खोज्थ्यौँ। वास्तवमा त्यतिखेर हामी हरेक जन्मजात दार्शनिक र वैज्ञानिक थियौँ। हामीलाई सुकरात वा बुद्धको ज्ञान पढ्नुपरेको थिएन, हाम्रो आफ्नै बालसुलभ कौतूहल नै हाम्रो सबैभन्दा ठूलो उपनिषद् थियो।

तर बिस्तारै हामीलाई नामले मात्र पुगेन। हाम्रो निर्दोष मस्तिष्कले अर्को एउटा भयानक प्रश्न जन्मायो, किन? यो किन भन्ने प्रश्न सायद मानव सभ्यताकै सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा गहिरो अभिशाप दुवै हो। रुख किन बढ्छ? घाम किन अस्ताउँछ? आकाश किन नीलो छ? र चराहरू किन उड्छन्? हामीले सोधेका यी प्रश्नहरू सुन्दा जति साधारण लाग्थे दार्शनिक रूपमा ती त्यति नै गहिरा थिए। किनभने प्रश्न नै मानिस र प्रकृतिका अन्य प्राणीबीचको सबैभन्दा ठूलो पर्खाल हो। एउटा दुम्सीलाई आफू किन दुम्सी हुँ भन्ने थाहा पाउनु छैन। एउटा कुकुरलाई आफू किन कुकुरछु भन्ने प्रश्नले कहिल्यै सताउँदैन। प्रकृतिका अरू सबै प्राणीहरू केवल बाँच्छन्। तर मानिस मात्र एउटा यस्तो प्राणी हो जसलाई बाँचेर मात्र पुग्दैन उसलाई आफू किन बाँचिरहेको छु भन्ने अर्थ पनि चाहिन्छ। हाम्रो त्यो बालसुलभ जिज्ञासा वास्तवमा त्यही अर्थ खोज्ने ब्रह्माण्डको एउटा निरन्तर प्रयास थियो। ब्रह्माण्ड आफैँले हाम्रा आँखामार्फत आफैँलाई हेरिरहेको थियो र आफ्नै अस्तित्वको कारण सोधिरहेको थियो।

तर हाम्रो त्यो ब्रह्माण्डीय जिज्ञासालाई शान्त पार्ने यो समाज र हाम्रा अग्रजहरूसँग कुनै साँचो उत्तर थिएन। जब हामीले सोध्यौँ पानी किन पर्छ, उहाँहरूले भन्नुभयो इन्द्र देउता रोए। जब हामीले सोध्यौँ घाम किन अस्ताउँछ, उहाँहरूले भन्नुभयो घामलाई निद्रा लाग्यो। अनि जब गाउँको कुनै वृद्ध हजुरबुबाको मृत्यु हुँदा हामीले सोध्यौँ मान्छे किन मर्छ, उहाँहरूले भन्नुभयो भगवान्लाई राम्रो मान्छे चाहिएर। हाम्रा ती अनन्त प्रश्नहरूलाई उहाँहरूले धर्म, परम्परा र आफ्ना थकित अनुभवका तयारी उत्तरहरूले टालटुल पारिदिनुभयो। वास्तवमा ठूला मानिसहरू हाम्रा किन भन्ने प्रश्नहरूसँग भित्रभित्रै डराउँथे किनभने ती प्रश्नहरूले उनीहरूको यान्त्रिक र सम्झौतापूर्ण जीवनको अर्थहीनतालाई उघारिदिन्थे। कहिलेकाहीँ त हाम्रा निरन्तरका प्रश्नहरूले उनीहरूलाई झर्को लाग्थ्यो र हप्काएर चुप लगाइन्थ्यो।

बिस्तारै हामीले बुझ्न थाल्यौँ कि ठूला मानिसहरूसँग पनि हाम्रा किनहरूको कुनै वास्तविक जवाफ छैन। समाजको त्यही झर्कोफर्को र पछि गएर विद्यालयका घोक्ने किताबहरूले हाम्रो त्यो आदिम कौतूहलको बिस्तारै हत्या गर्दै गए। विद्यालयले हामीलाई प्रश्न गर्न सिकाएन बरु पहिले नै तयार पारिएका उत्तरहरू कण्ठ गर्न सिकायो। हामीले प्रश्न सोध्न छोड्यौँ र जे जस्तो छ त्यसलाई चुपचाप स्वीकार गर्न थाल्यौँ। जब हामीले आफ्नो भित्रको त्यो प्रश्न सोध्ने बालकलाई मायौँ, तब हामी समाजको नजरमा हुर्कियौँ र समझदार बन्यौँ। तर अस्तित्ववादी दृष्टिकोणले हेर्दा त्यही दिन हाम्रो भित्रको वास्तविक मानिसको मृत्यु भयो। आज हामीसँग हरेक कुराको मूल्य छ तर जीवनको कुनै पनि कुराको अर्थ छैन। हामी पैसा कसरी कमाउने भनेर सोच्छौँ तर यो जीवन किन बाँच्दै छौँ भनेर कहिल्यै सोच्दैनौँ।

के तपाईंलाई लाग्दैन, आज हामीले जीवनको अर्थ गुमाउनुको मुख्य कारण नै हामीले त्यो बालसुलभ जिज्ञासालाई मार्नु हो? के हामी फेरि एकपटक ती सबै थोपिएका ज्ञान र सिद्धान्तहरूलाई बिर्सेर त्यही आँगनको धुलोमा बस्न सक्छौँ र यो अनन्त आकाशलाई हेर्दै त्यही पुरानो प्रश्न सोध्न सक्छौँ आखिर यो सब के हो र म यहाँ किन छु?

अध्याय ६

आधारभूत आवश्यकता: गाँस बास र सुरक्षाको मात्रै प्राथमिक चाहना

शरीर हुर्कँदै जाँदा हाम्रा आवश्यकताहरू पनि पृथ्वीको गुरुत्वाकर्षणसँगै गहिरिएर जोडिन थाले। सुरुवाती दिनहरूमा हाम्रो जीवनको सबैभन्दा ठूलो र शाश्वत सत्य हाम्रो आफ्नै पेट थियो। भोक लाग्दा रुनु र पेट भरिएपछि निदाउनु नै हाम्रो सम्पूर्ण दिनचर्या थियो। पेट भोको हुँदा यो सिङ्गो ब्रह्माण्ड नै अर्थहीन, नीरस र शून्य लाग्दथ्यो। आमाले पिँढीको गुन्द्रीमा बसाएर काँसको थालमा पस्किदिएको तातो भात वा मोहीसँग मुछेको ढिँडो नै हाम्रालागि मोक्षको अन्तिम बिन्दु थियो। हामीलाई त्यतिबेला सुन, चाँदी, पद वा कुनै ठूलो महलको चाहना थिएन। केवल एक गाँस अन्नले हाम्रो सम्पूर्ण अस्तित्वलाई तृप्त बनाइदिन्थ्यो। अन्नको त्यो हरेक गेडामा हामीले सूर्यको ताप, माटोको उर्वरता र आकाशको जललाई आफ्नै शरीरभित्र हुलेर सिङ्गो ब्रह्माण्डसँग एकाकार गरिरहेका थियौँ। त्यो भोक कुनै लालच थिएन, त्यो त केवल यो भौतिक यन्त्रलाई चलायमान राख्ने प्रकृतिको एउटा निर्दोष माग मात्र थियो।

गाँसपछिको दोस्रो सत्य बास थियो। हाम्रालागि बास भनेको सिमेन्ट र फलामको विशाल वा बलियो संरचना थिएन। बर्खाको झरीमा परालको छानोबाट पानी तर्किँदा आमाले थापिदिएको तामाको गाग्रीमा उठ्ने सङ्गीत नै हाम्रो बासको सबैभन्दा ठूलो सौन्दर्य थियो। रातो माटो र गोबरले लिपिएको भित्ता, मकैका कुन्यू राखिएको दलिन र दाउरा बलिरहेको चुल्होको न्यानोपनभित्र हामीले सम्पूर्ण संसारको सुरक्षा पाएका थियौँ। बाहिर जस्तोसुकै हूरीबतास चलोस् वा असिना परोस्, घरको सँघारभित्र पसेपछि हामीलाई लाग्थ्यो अब मृत्युले पनि हामीलाई छुन सक्दैन। बासको अर्थ केवल शरीर लुकाउने ओत थिएन, त्यो त एउटा यस्तो आध्यात्मिक केन्द्र थियो जहाँ हाम्रो आत्माले विश्राम पाउँथ्यो। हामीलाई निदाउनकोलागि कुनै बाक्लो डस्ना वा सिरक चाहिँदैनथ्यो, बुबाको पुरानो कोट वा आमाको फरियाको फेरो नै हाम्रालागि संसारको सबैभन्दा न्यानो बिछ्यौना हुन्थ्यो।

तेस्रो आवश्यकता सुरक्षा थियो। तर त्यो सुरक्षा कुनै हतियार, कानुन वा अग्लो पर्खालले दिने सुरक्षा थिएन। त्यो त केवल एउटा विशुद्ध मनोवैज्ञानिक आड थियो। रात पर्दै गएपछि पर जङ्गलमा स्याल कराउँदा, हुचिलहरूले आवाज निकाल्दा वा हावाको झोंकाले ढोका ढक्ढकाउँदा हामी डराएर आमाको छातीमा टाँसिन पुग्थ्यौँ। अँध्यारोले ल्याउने त्यो आदिम त्रासलाई जित्न हामीलाई केवल एउटा न्यानो स्पर्श र एउटा परिचित आवाजको आवश्यकता पर्थ्यो। आमाले निधारमा सुम्सुम्याउँदै केही हुँदैन बाबु भनिदिँदा त्यो अँध्यारोको सम्पूर्ण भयानक रूप आफैँ पग्लिएर हराउँथ्यो। हाम्रालागि सुरक्षा भनेको बैङ्कको खातामा सम्पत्तिको सङ्कलन वा भोलिको अनिश्चितताको चिन्ता थिएन। हाम्रो सुरक्षा त आजको रात निर्धक्क निदाउनु र भोलि बिहान घामको पहिलो किरणसँगै फेरि आँगनमा खेल्न पाउनुमा सीमित थियो।

तर मानिस हुनुको सबैभन्दा ठूलो दुःखान्त नै यही रहेछ कि हाम्रा यी प्राथमिक आवश्यकताहरू कहिल्यै प्राथमिक मात्र रहेनन्। हिजो एक गाँस अन्नले अघाउने पेट आज अनेकौँ व्यञ्जन र भण्डारणले पनि भरिँदैन। हिजो माटोको चुल्हो र परालको छानोमा ब्रह्माण्डको सम्पूर्ण सुरक्षा देख्ने हामी आज सिसा र सिमेन्टका विशाल महलहरूभित्र पनि त्रसित भएर रात काटिरहेका छौँ। भैरव अर्यालले आफ्ना निबन्धहरूमा व्यङ्ग्य गरेझैँ मानिसको शरीरले ओगट्ने ठाउँ साढे पाँच फिट मात्र हो र उसको पेटको आकार केही इन्च मात्र छ, तर त्यसलाई भर्न उसले सिङ्गो पृथ्वीको छाती चिरेर पनि तृप्ति पाइरहेको छैन। हिजोको त्यो निर्दोष गाँस आज भोक मेटाउने साधन नभएर अहङ्कार देखाउने माध्यम बनेको छ। हिजोको त्यो बास आज ओत लाग्ने ठाउँ नभएर सम्पत्ति र हैसियतको प्रदर्शन बनेको छ। अनि हिजोको त्यो सुरक्षा आज भोलिको त्रास र निरन्तर सङ्ग्रह गर्ने लोभमा परिणत भएको छ।

हामीले प्रकृतिको त्यो सरल नियमलाई कति धेरै जटिल र कुरूप बनाइदियौँ। हामी जति ठूलो हुँदै गयौँ, हाम्रो शरीरका आवश्यकताहरू त उही रहे तर हाम्रो मनको दरिद्रता अनन्त रूपमा फैलिँदै गयो। बाल्यकालमा गाँस, बास र सुरक्षा शरीरलाई बचाउन मात्र चाहिएको थियो, तर आज यी कुराहरू हाम्रो अहङ्कारलाई पाल्ने इन्धन बनेका छन्। हामीले बाँच्नकोलागि खान छोड्यौँ र खानकोलागि अनि थुपार्नकोलागि मात्र बाँच्न थाल्यौँ। पारिजातले अस्तित्वको शून्यतालाई औँल्याएझैँ, हामीले जीवनभर जेजति सङ्ग्रह गर्छौँ, त्यो अन्ततः यही माटोको शरीरलाई पाल्ने र एकदिन माटोमै बिलाउने एउटा निरर्थक दौड मात्र हो। हामीले जतिसुकै अग्लो पर्खाल लगाए पनि मृत्युको चिसो हावालाई त्यसले छेक्न सक्दैन भन्ने शाश्वत सत्यलाई हामीले बिर्सियौँ। हामी बाहिर जति सुरक्षित र सम्पन्न हुन खोजिरहेका छौँ, भित्रभित्रै हामी त्यति नै असुरक्षित, एक्लो र खोक्रो हुँदै गइरहेका छौँ।

के तपाईंलाई कहिल्यै लाग्दैन, आज हामीले जीवनभर गरिरहेको यो अन्त्यहीन दौड, यो असीमित धनको सङ्कलन र यो कृत्रिम सुरक्षाको खोजी वास्तवमा त्यही बाल्यकालको एक गाँस सन्तुष्टि र एक रातको निश्चिन्त निद्रालाई फर्काउने एउटा असफल प्रयास मात्र हो? के हामी फेरि कहिल्यै त्यही माटोको चुल्होछेउमा बसेर कुनै पनि भोलिको चिन्ता नगरी आजको गाँसमा सम्पूर्ण ब्रह्माण्डको तृप्ति महसुस गर्न सक्छौँ?

भाग २ — अहङ्कारको निर्माण र सामाजिकीकरण
अध्याय ७

अहङ्कारको जन्म: म र मेरो भन्ने भावनाको विकास र स्वामित्वको चाहना

हामीले गाँस र बासको तृप्ति बुझेपछि बिस्तारै हाम्रो चेतनामा एउटा नयाँ र खतरनाक बिउ अङ्कुराउन थाल्यो। त्यो बिउ अहङ्कारको थियो। हिजोसम्म सम्पूर्ण ब्रह्माण्डलाई एउटै मान्ने र प्रत्येक वस्तुमा ईश्वरको प्रतिरूप देख्ने हाम्रा निर्दोष आँखाहरूले अब बिस्तारै सीमाहरू कोर्न थाल्यो। आँगनको धुलोमा सँगै लडीबुडी खेल्ने छिमेकीको साथीले जब हाम्रो काठको पाङ्ग्रा वा माटोको भुरभुरे गाडी छुन खोज्थ्यो, हामी त्यसलाई हत्तपत्त खोसेर रुन्थ्यौँ। त्यो रुवाइ केवल एउटा निर्जीव खेलौनाप्रतिको मोह मात्र थिएन, त्यो त मेरो भन्ने भावनामाथि परेको पहिलो प्रहारको चित्कार थियो। यो खेलौना मेरो हो, यो आँगन मेरो हो र यी आमा मेरो हुन् भन्ने सोचले हाम्रो निष्कलङ्क मनमा पहिलोपटक द्वैतवादको विशाल पर्खाल ठड्याइदियो। अद्वैतको त्यो ब्रह्माण्डीय शान्तिबाट स्खलित भएर हामी पहिलोपटक मेरो भन्ने एउटा साँघुरो, भ्रामक र स्वार्थी संसारमा प्रवेश गर्यौँ।

हाम्रो मनोवैज्ञानिक पतनको सबैभन्दा ठूलो दृश्य त्यतिबेला देखिन्थ्यो जब आमाको काखमा अरू कुनै बच्चा आएर बस्थ्यो। हाम्रो छातीभित्र जुन ईर्ष्याको आगो दन्किन्थ्यो, त्यसले हामीलाई सधैँका लागि एक्लो बनाइदियो। हामीलाई लाग्दथ्यो आमाको सम्पूर्ण प्रेम, उनको दूध र उनको अस्तित्वमाथि हाम्रो मात्र एकाधिकार छ। हामीले आमालाई एउटा स्वतन्त्र मानिसको रूपमा होइन आफ्नो निजी सम्पत्तिको रूपमा हेर्न थाल्यौँ। हामी दौडिएर आमाको काखमा पुग्थ्यौँ र त्यो अर्को बच्चालाई धकेलेर आफ्नो अधिकार स्थापित गर्थ्यौँ। त्यस क्षण समाजका अग्रजहरू हाम्रो त्यो ईर्ष्या देखेर मुस्कुराउँथे र भन्थे, हेर त बाठो भयो, आफ्नो आमा अरूलाई दिँदैन। उनीहरूले बुझेनन् र हामीले पनि मेसो पाएनौँ कि त्यही दिन हामीले प्रेमलाई गुमायौँ र स्वामित्वलाई अङ्गाल्यौँ। प्रेम स्वतन्त्र हुन्छ तर स्वामित्व सधैँ डराएको हुन्छ। त्यही डरले हाम्रो चेतनामा जरा गाड्न सुरु गर्यो।

खोलाको बगरमा खेल्न जाँदा बालुवामा भेटिएको कुनै चिल्लो रङ्गीन ढुङ्गा, बारीको कान्लाबाट टिपेर ल्याएको मयुरको प्वाँख वा च्यातिएको कट्टुको गोजीमा लुकाएर राखेको सिसाको गुच्चा हाम्रालागि यो पृथ्वीकै सबैभन्दा मूल्यवान् सम्पत्ति बन्यो। हामी ती निर्जीव वस्तुहरूलाई आफ्नो प्राणभन्दा बढी माया गर्न थाल्यौँ। राति सुत्दा सिरानीमुनि त्यो गुच्चा छ कि छैन भनेर पटकपटक छाम्ने बानीले हाम्रो निद्राको आदिम शान्तिलाई भङ्ग गरिदियो। हामीले ती वस्तुहरूलाई आफ्नो मुठीमा कसिरहँदा हामीलाई लाग्थ्यो हामीले तिनलाई आफ्नो बनाएका छौँ। तर सत्य त निकै कारुणिक थियो। ती साना र मूल्यहीन वस्तुहरूले हाम्रो सम्पूर्ण चेतनालाई आफ्नो दास बनाइसकेका थिए। हामी ती ढुङ्गा र गुच्चाहरूका चौकीदार बन्न पुगेका थियौँ। स्वामित्वको यो चाहनाले हामीलाई प्रकृतिको खुला आकाशबाट तानेर एउटा सानो र अँध्यारो खोरमा कैद गरिदियो।

शङ्कर लामिछानेले निबन्धमा उतारेको अस्तित्वको विडम्बना झैँ मानिसको सबैभन्दा ठूलो भ्रम नै उसले भौतिक कुराको स्वामित्व लिन सक्छ भन्ने सोच हो। हामी रित्तो हात आएका थियौँ र रित्तै फर्किनेछौँ भन्ने आदिम सत्यलाई हाम्रो भर्खरै हुर्किएको अहङ्कारले पूरै बिर्सिदियो। हिजोसम्मा जुन माटोमा खेल्दा हामी त्यसलाई सम्पूर्ण प्रकृतिको साझा अंश मान्थ्यौँ, आज त्यही आँगनको माटोमा सिन्काले एउटा सानो धर्सा कोरेर यो मेरो भाग हो र त्यताको तेरो भाग हो भन्न थाल्यौँ। हाम्रो त्यो सानो मस्तिष्कले बिस्तारै सीमाहरू र पर्खालहरू निर्माण गर्न सिक्यो। मेरो घर, मेरो परिवार, मेरो लुगा र मेरो मान्छे। यो मेरो भन्ने दुई अक्षरको शब्दले हामीलाई अरू सम्पूर्ण ब्रह्माण्डबाट चटक्कै चुँडाएर एउटा सानो टापुमा फालिदियो। हामी जतिजति वस्तुहरूलाई मेरो भन्दै जम्मा गर्न थाल्यौँ, हाम्रो भित्रको शून्यता त्यति नै गहिरिँदै गयो। पारिजातले अस्तित्वको शून्यतालाई जसरी छाम्नुभयो, सायद त्यसको पहिलो अङ्कुरण त्यही बाल्यकालको स्वामित्वको भीखमा लुकेको थियो।

ब्रह्माण्डको विराट् स्वरूपमा हेर्दा एउटा सानो धुलोको कण जस्तो मानिसले अर्को धुलोको कणलाई मेरो भन्नु कति हास्यास्पद र कति निरर्थक कुरा हो। आकाशका ताराहरूले कहिल्यै अन्तरिक्षलाई मेरो भनेनन्। बग्ने नदीले कहिल्यै किनारको माटोलाई आफ्नो पेवा ठानेन। तर हामी मानिसहरू जसको आयु एउटा पानीको फोका जति पनि छैन, हामीले यो अनन्त पृथ्वीलाई टुक्राटुक्रा पारेर आफ्नो नाममा दर्ता गर्न थाल्यौँ। बाल्यकालमा जम्मा गरेका ती सिसाका गुच्चाहरू र काठका खेलौनाहरू पछि गएर बैङ्कका खाता, जग्गाका लालपुर्जा र सुनका गहनाहरूमा परिणत भए तर ती वस्तुहरूलाई मुठीमा कस्दा महसुस हुने त्यो डर र असुरक्षा भने कहिल्यै बदलिएन। हिजो अर्को बच्चाले खेलौना खोस्ला कि भनेर डराउने हामी आज चोरले सम्पत्ति लैजाला कि, रोगले शरीर लैजाला कि वा मृत्युले जीवन नै लैजाला कि भनेर निरन्तर त्रसित छौँ। यो अनन्त डर हाम्रो स्वामित्वको चाहनाले दिएको सबैभन्दा क्रूर उपहार हो।

हामीले आफ्नो सम्पूर्ण जीवन त्यही मेरो भन्ने भ्रमलाई हुर्काउन र बचाउन खर्च गयौँ। हामी बाहिर जति सम्पन्न देखियौँ भित्र त्यति नै कङ्गाल हुँदै गयौँ। किनभने जोसँग गुमाउने कुरा धेरै हुन्छ, ऊ कहिल्यै शान्तिको सास फेर्न सक्दैन। अहङ्कारको यो जन्मले हामीलाई मानिस त बनायो तर हामीभित्रको त्यो निर्दोष देवतालाई सधैँकालागि मारिदियो। हामीले प्राप्तिको दौडमा लागेर आफ्नो असली स्वरूप गुमायौँ।

के तपाईंलाई कहिल्यै लाग्दैन हामीले यो जीवनमा जे जति कुरालाई मेरो भनेर छातीमा टाँसेका छौँ ती सबै वास्तवमा हाम्रो अहङ्कारले बुनेका माकुराका जाला मात्र हुन्? के हामी मृत्युको अन्तिम क्षणमा पुग्नुभन्दा अगाडि नै यो मेरो भन्ने भ्रमको भारी बिसाएर फेरि त्यही आदिम शून्यता र स्वतन्त्रतामा फर्कन सक्छौँ जहाँ हामी ब्रह्माण्डका थियौँ र सम्पूर्ण ब्रह्माण्ड हाम्रो थियो?

अध्याय ८

सामाजिकीकरणको प्रारम्भ: भाषा, संस्कृति, नियम र अरूसँग घुलमिल हुन सिक्नु

हाम्रो अहङ्कारले म र मेरो भन्ने साँघुरो घेरा कोरिसकेपछि हामीलाई त्यो घेराभित्र अरू मानिसहरूलाई पनि अटाउनुपर्ने बाध्यता आइलाग्यो। हामीले बिस्तारै समाज भनिने एउटा विशाल र अदृश्य जालोभित्र आफ्ना पाइलाहरू राख्न थाल्यौँ। यो सामाजिकीकरणको पहिलो खुड्किलो भाषा थियो। हिजोसम्मा हाम्रो रुवाइ र हाँसो नै सम्पूर्ण ब्रह्माण्डले बुझ्ने एकमात्र आदिम भाषा थियो तर अब हामीलाई शब्दहरूको बन्धनमा बाँधिन सिकाइयो। हामीले पानीलाई पानी भन्न सिक्यौँ र आगोलाई आगो भन्न सिक्यौँ। जतिबेला हामीले आकाशमा उड्ने चरालाई चरा भनेर नाम दियौँ, त्यतिखेर हामीले त्यो उड्ने जीवको अनन्त स्वतन्त्रतालाई एउटा सानो शब्दमा कैद गरिदियौँ। भाषाले हामीलाई अरूसँग जोड्ने काम त गर्यो तर सँगसँगै यसले हाम्रो त्यो शब्दविहीन र असीमित अनुभूतिको हत्या पनि गर्यो। हामीले बोल्न त सिक्यौँ तर हाम्रो मौनताको त्यो गहिरो ब्रह्माण्डीय सङ्गीत सदाका लागि हरायो। हामीले जति धेरै शब्दहरू सिक्यौँ, हामी प्रकृतिबाट त्यति नै टाढा हुँदै गयौँ।

गाउँको चौतारो र धुलाम्मे आँगनमा छिमेकीका दौंतरीहरूसँग खेल्न थालेपछि हामीले जीवनका नयाँ नियमहरू बुझ्न थाल्यौँ। हिजोसम्मा एक्लै खेल्दा हामी आफ्नै नियमका राजा थियौँ तर अब त्यहाँ जित र हारका सर्तहरू थपिए। लुकामारी खेल्दा गोठको अँध्यारो कुनामा लुकेर बस्दाको त्यो ढुकढुकी र कसैले फेला पार्दाको त्यो त्रासले हामीलाई समाजको असली रूप देखाइदियो। हामीले थाहा पायौँ कि यो संसारमा सधैँ लुकेर बस्न सम्भव छैन र अरूले हामीलाई खोजिरहेका हुन्छन्। बर्खायाममा भेलले काटेको खाल्डोमा बसेर साथीहरूसँग हिलो माटोको घर बनाउँदा हामीलाई लाग्दथ्यो हामीले साँच्चैको संसार निर्माण गरिरहेका छौँ। तर जब बेलुकापख त्यही घरलाई आफ्नै खुट्टाले भत्काएर हामी घर फर्किन्थ्यौँ, हामीले अचेतन रूपमै निर्माण र विनाशको ब्रह्माण्डीय चक्रलाई निभाइरहेका हुन्थ्यौँ। खेलको नियम मान्दामान्दै हामीले बिस्तारै समाजका कठोर नियमहरू पनि मान्न थाल्यौँ।

समाजले हामीलाई बिस्तारै आफ्नो साँच्चैको स्वरूप लुकाउन र नक्कली अनुहार लगाउन सिकाउन थाल्यो। बाटोमा हिँड्दा कुनै अपरिचित पाहुना वा मान्यजनलाई देख्नेबित्तिकै दुई हात जोडेर नमस्कार गर्नुपर्छ वा निहुरिएर ढोग्नुपर्छ भन्ने संस्कार हामीमाथि थोपरियो। हाम्रो भित्र श्रद्धा होस् वा नहोस्, हाम्रो टाउको निहुरिनुपर्थ्यो। यो नमस्कार केवल एउटा अभिवादन थिएन, यो त समाजले हाम्रो स्वतन्त्र आत्मामाथि लगाएको लगाम थियो। कुन चाडपर्वमा के लुगा लगाउने, मन्दिर जाँदा कसरी उभिने र कसको अगाडि कति ठूलो स्वरमा बोल्ने भन्ने कुराका अलिखित कानुनहरूले हाम्रो कलिलो मस्तिष्कलाई थिच्न थाले। दशैंमा मान्यजनको हातबाट टीका थाप्दा हामीलाई निधारमा परेको चामलभन्दा पनि खामभित्रको दक्षिणको हिसाबकिताब राख्न सिकाइयो। हिजो वनको जङ्गली जनावर जस्तै उन्मुक्त भएर रुने र हाँस्ने हामी अब घरपालुवा जनावर जस्तै अनुशासित र आज्ञाकारी बन्न थाल्यौँ। हाम्रो मौलिकता र प्राकृतिक स्वभावलाई संस्कारको कैंचीले काटेर समाजले चाहेजस्तो आकार दियो।

हामीले बिस्तारै आफूलाई अरूको नजरबाट हेर्न सिक्यौँ। फलानाको छोरा कति ज्ञानी छ वा फलानीकी छोरी कति राम्रो काम गर्छे भन्ने प्रशंसा सुन्न हामी जे पनि गर्न तयार हुन थाल्यौँ। हाम्रो आफ्नो खुसीभन्दा पनि अरूले के भन्लान् भन्ने डरले हाम्रो जीवनको डोरो सम्हाल थाल्यो। बीपी कोइरालाका पात्रहरूले जस्तै हामीले पनि आफ्नो भित्रको असली मानिसलाई लुकाएर बाहिर एउटा भद्र र सभ्य मानिसको नक्कली मुकुन्डो लगाउन सुरु गर्यौँ। रुन मन लागेको बेला पनि ओठमा झूटो मुस्कान टाँसेर हिँड्न सक्ने भयौँ। हामी समाजको एउटा यस्तो यन्त्र बन्न पुग्यौँ जसले अरूको ताली र स्याबासीको लागि आफ्नै रगत पसिना बगाउन राजी हुन्छ। हामी जति धेरै सामाजिक हुँदै गयौँ, हाम्रो अन्तरात्मासँगको हाम्रो संवाद त्यति नै टुट्दै गयो।

बालकृष्ण समको दार्शनिक चेतले भनेझैँ समाजको यो विशाल रङ्गमञ्चमा हामीले आफूलाई एउटा यस्तो पात्रको रूपमा उभ्यायौँ जसले आफ्नो संवाद अरू कसैले लेखिदिएको स्क्रिप्टबाट पढिरहेको छ। हामीले आफ्नै लय बिर्सियौँ र समाजको मादलमा नाच्न सिक्यौँ। हामीले अरूसँग घुलमिल हुन त जान्यौँ तर त्यो प्रक्रियामा हामी आफैँसँग भने नितान्त अपरिचित बन्दै गयौँ। हामीले मित्रता र सम्बन्धका नाममा मानिसहरूको भीड जम्मा गर्यौँ तर त्यही भीडभित्र हाम्रो अस्तित्वको शून्यता झन् झन् फराकिलो हुँदै गयो। हामीले सिकेको यो सामाजिकीकरण वास्तवमा हामीले आफ्नै स्वतन्त्रताको चितामाथि बनाएको एउटा सुन्दर महल मात्र थियो।

के तपाईंलाई कहिल्यै लाग्दैन हामीले यो समाज र संस्कारको नाममा लगाइरहेको मुकुन्डो फुकालेर हेर्ने हो भने हामीभित्र अझै पनि त्यही डराएको र स्वतन्त्रता खोजिरहेको आदिम बालक रोइरहेको छ? के हामीले अरूको नजरमा आफूलाई राम्रो र सामाजिक बनाउने दौडमा आफ्नो वास्तविक अनुहार सधैँकालागि बिर्सिसकेका त छैनौँ?

अध्याय ९

कल्पना र सिर्जनात्मकता: भौतिक सीमिततालाई जितेर मनको अनन्त ब्रह्माण्डमा उडान

समाजले हामीलाई नियम र भाषाहरूको बन्धनमा बाँध्न खोज्दै गर्दा हाम्रो भित्रको चेतनाले एउटा नयाँ उडान भर्ने बाटो खोजिरहेको थियो। त्यो बाटो कल्पनाको बाटो थियो। जब भौतिक संसारका ढोकाहरू हाम्रालागि साना र साँघुरा लाग्न थाले, हामीले आफ्नै मनको अनन्त ब्रह्माण्डभित्र नयाँ संसारहरू निर्माण गर्न थाल्यौँ। लक्ष्मीप्रसाद देवकोटाले जसरी आफ्नै कोठामा बसेर सम्पूर्ण ब्रह्माण्डको चित्र कोर्नुभयो, हाम्रो बालमस्तिष्क पनि त्यही विराट् सिर्जनात्मकताको एउटा सानो अंश बनेर प्रस्फुटित भइरहेको थियो। हामीलाई उड्नकालागि पखेटा चाहिँदैनथ्यो, हाम्रो कल्पना नै एउटा यस्तो उडान थियो जसले पृथ्वीको गुरुत्वाकर्षणलाई सजिलै जितेर हामीलाई ताराहरूसम्म पुर्याउँथ्यो। हामीले आँगनको धुलोमा बसेर माटो मुछ्दै गर्दा केवल माटो चलाइरहेका थिएनौँ, हामी त आदिम ब्रह्माको रूप धारण गरेर आफ्नै एउटा नयाँ सृष्टिको रचना गरिरहेका थियौँ। हाम्रो त्यो निर्दोष सिर्जनात्मकता कुनै प्रदर्शन वा लाभकालागि थिएन, त्यो त केवल अस्तित्वको आनन्द मनाउने एउटा नैसर्गिक प्रक्रिया थियो।

बर्खायामको मध्याह्नमा जब हामी पिँढीको गुन्द्रीमा पल्टिएर आकाशतिर हेर्थ्यौँ, ती सेता बादलका थुम्काहरू हाम्रालागि केवल पानी बोकेका बाफका डल्ला थिएनन्। हाम्रो कल्पनाको कुचीले ती बादलहरूमा कहिले सेतो हात्ती, कहिले उड्ने घोडा त कहिले विशाल राक्षसको अनुहार कुँद्थ्यो। हावाको झोँकासँगै जब ती आकृतिहरू भत्किन्थे र नयाँ रूप लिन्थे, हामी अचेतन रूपमै प्रकृतिको निर्माण र विनाशको शाश्वत नियमलाई हेरिरहेका हुन्थ्यौँ। राति मट्टितेलको टुकी बल्दा भित्तामा देखिने हाम्रा आफ्नै छायाँहरूसँग हामी घण्टौँ कुरा गर्थ्यौँ। हातका औंलाहरू दोबारेर भित्तामा कुकुर, चरा र सर्पका आकृतिहरू बनाउँदा हामीलाई लाग्थ्यो हामीले साँच्चै नै ती जीवहरूलाई जीवन दिएका छौँ। त्यो उज्यालो र अँध्यारोको बीचमा बनेको छायाँको संसार नै हाम्रालागि सबैभन्दा ठूलो रङ्गमञ्च थियो जहाँ हामी आफैँ निर्देशक, आफैँ कलाकार र आफैँ दर्शक थियौँ।

हामीसँग बजारबाट किनेर ल्याएका महँगा खेलौनाहरू थिएनन् तर हाम्रो सिर्जनात्मकता यति विराट् थियो कि हामीले सिङ्गो प्रकृतिलाई नै आफ्नो खेलौना बनाएका थियौँ। निगालोको हाँगा काटेर बनाएको घोडामा चढ्दा हामीले जुन गति र स्वतन्त्रताको महसुस गर्थ्यौँ, त्यो आजका सुविधायुक्त गाडीहरूमा पनि पाइँदैन। खोल्साको किनारमा बसेर रातो माटोले बनाएका साना सुधरा, गाग्री र मन्दिरहरू हाम्रो कलात्मकताका पहिलो महाकाव्य थिए। जब हामीले ती माटोका भाँडाहरूलाई घाममा सुकाउँथ्यौँ, हामीलाई एउटा गर्व महसुस हुन्थ्यो मानौँ हामीले यो पृथ्वीमा आफ्नो अमर छाप छोडेका छौँ। तर जब बेलुकाको झरीले ती सबै माटोका सिर्जनाहरूलाई पगालेर फेरि त्यही खोल्साको हिलोमा मिलाइदिन्थ्यो, हामी भक्कानिएर रुन्थ्यौँ। त्यो रुवाइ केवल खेलौना भत्किएको पीडा थिएन, त्यो त मानिसको सिर्जना कति क्षणभङ्गुर छ भन्ने अस्तित्ववादी सत्यसँगको हाम्रो पहिलो र निर्मम साक्षात्कार थियो। शङ्कर लामिछानेले भनेझैँ अस्तित्वको निर्माण जति सुन्दर हुन्छ त्यसको विसर्जन त्यति नै पीडादायी हुन्छ भन्ने शाश्वत सत्य हामीले त्यही माटोको घर भत्किँदा सिकेका थियौँ।

जाडोयाममा अगेनाको वरिपरि बसेर आगो ताप्दै गर्दा हजुरआमाले सुनाउने दन्त्यकथाहरूले हाम्रो कल्पनालाई झनै मलजल गर्थे। ती कथाहरूमा उड्ने खटोला हुन्थ्यो, सात समुद्रपारिका राक्षस हुन्थे र पातालमा लुकेका परीहरू हुन्थे। हामी ती कथाहरू सुन्दासुन्दै यति गहिरो सम्मोहनमा पुग्थ्यौँ कि हामीलाई त्यो भौतिक कोठा र बलिरहेको दाउराको सत्यताभन्दा ती काल्पनिक संसारहरू धेरै वास्तविक लाग्न थाल्थे। हाम्रो मनले तर्कको ढोका बन्द गरेर विश्वासको अनन्त आकाश खुला छोडेको थियो। हामीलाई डर पनि लाग्थ्यो तर त्यो डरमा पनि एउटा अनौठो आनन्द लुकेको हुन्थ्यो। जङ्गलको बाटो हिँड्दा रुखको सुकेको ठुटोलाई भूत सम्झेर तर्सिंदा हाम्रो मुटु जसरी ढुकढुक गर्थ्यो, त्यो वास्तवमा हाम्रो कल्पनाले हाम्रो शरीरमाथि गरेको विजय थियो। हामीले नदेखेको कुरालाई पनि यति जीवन्त रूपमा महसुस गर्न सक्थ्यौँ किनभने हाम्रो चेतना अझै पनि तर्क र विज्ञानको कैदी बनिसकेको थिएन।

तर समयको क्रूर चक्रसँगै हाम्रो यो ब्रह्माण्डीय कल्पनाशीलता बिस्तारै मर्न थाल्यो। समाज र विद्यालयका औपचारिक शिक्षाहरूले हाम्रो त्यो असीमित उडानलाई काटेर हामीलाई यथार्थको कठोर जमिनमा पछारिदिए। शिक्षकहरूले हामीलाई सिकाए कि बादल भनेको केवल वाष्पीकरणको परिणाम हो, त्यहाँ कुनै हात्ती र घोडा हुँदैनन्। उनीहरूले भने कि रातो माटो केवल सिलिका र रसायनको मिश्रण हो, त्यसले बनाएका घरहरूको कुनै मूल्य हुँदैन। हामीलाई सपना देख्न छोडेर हिसाबका सूत्रहरू कण्ठ गर्न बाध्य पारियो। हाम्रो भित्रको त्यो असीमित कलाकार, त्यो आदिम ब्रह्मा र त्यो स्वतन्त्र दार्शनिक बिस्तारै तर्क, विज्ञान र उपयोगिताको चितामा जिउँदै जलाइयो। हामीले प्रश्नको सट्टा उत्तरहरू घोक्न थाल्यौँ र कल्पनाको सट्टा तथ्यहरूलाई पुज्न थाल्यौँ। जतिजति हामी बौद्धिक र व्यावहारिक हुँदै गयौँ, हाम्रो सिर्जनात्मक शून्यता त्यति नै गहिरिँदै गयो। हामीले बाहिरी संसार त चिन्यौँ तर आफ्नै अन्तरात्माको त्यो विशाल ब्रह्माण्डलाई भने चटक्कै बिर्सियौँ।

आज हामी ठूला भएका छौँ, सभ्य भएका छौँ र तर्कशील भएका छौँ। हामीसँग प्रविधिका अनेकौँ चमत्कारहरू छन् तर हामीले आफ्नो मनको त्यो जादुमय पर्दा सधैँकालागि च्यातेर फालिसकेका छौँ। आज हामी आकाशमा बादल हेर्दैनौँ, मोबाइलको स्क्रिनमा मौसमको भविष्यवाणी हेर्छौँ। हामी माटो छुँदैनौँ किनकि त्यसले हाम्रो कृत्रिम आवरणलाई फोहोर बनाउँछ। हामीले आफ्नो सिर्जनात्मकतालाई अफिसका फाइलहरू र पैसा कमाउने यन्त्रहरूमा सीमित गरिदिएका छौँ। पारिजातले भनेझैँ यो जीवन एउटा यस्तो शून्यतामा परिणत भएको छ जहाँ हामी बाँचिरहेका त छौँ तर हाम्रो भित्रको वास्तविक जीवन उहिल्यै मरिसकेको छ। हामीले तर्कको उज्यालोमा हिँड्न त सिक्यौँ तर कल्पनाको त्यो सुन्दर अन्धकारमा लुकेको जादुलाई भने सधैँकालागि गुमायौँ।

के तपाईंलाई कहिल्यै लाग्दैन हामीले यथार्थ र तर्कको यो दौडमा जितेर पनि वास्तवमा जीवनको सबैभन्दा सुन्दर र जादुमय अंश हारिसकेका छौँ? के हामी फेरि एकपटक ती सबै बौद्धिक अहङ्कारहरूलाई बिसाएर त्यही आँगनको माटोमा पलेँटी कस्न सक्छौँ र आफ्नै हातले बनाएको माटोको घरमा सम्पूर्ण ब्रह्माण्डको सौन्दर्य देख्न सक्छौँ?

अध्याय १०

सही र गलतको मान्यता: समाजको नैतिक नियम र डरको मनोविज्ञान

हाम्रो असीमित कल्पनाको आकाशमा उन्मुक्त भएर उडिरहेका हामीलाई समाजले बिस्तारै नैतिकताको गह्रौँ साङ्लोले बाँध्न थाल्यो। हिजोसम्मा हाम्रो मनमा पाप र धर्मको कुनै तराजु थिएन। प्रकृतिको नियममा केवल भोक, निद्रा र अस्तित्वको लय मात्र जीवित थियो। बाघले बाख्राको सिकार गर्दा जङ्गलले कहिल्यै बाघलाई पापी भनेन, न त बाढीले गाउँ बगाउँदा नदीलाई कसैले अपराधी नै ठान्यो। तर मानिसको यो कृत्रिम र जटिल संसारमा प्रवेश गरेपछि हामीले पहिलोपटक सही र गलतको दोबाटोमा उभिनुपर्यो। हामीलाई सिकाइयो कि हाम्रा हरेक कार्यहरूलाई नाप्ने एउटा अदृश्य ढक छ। आफूलाई मन लागेको कुरा गर्नु स्वतन्त्रता होइन, तर समाजले तोकिदिएको परिधिभित्र खुम्चिनु नै असल हुनु हो भन्ने पाठ हाम्रो कलिलो मस्तिष्कमा बलजफ्ती खोपियो। हामीले आफ्नो प्राकृतिक प्रवाहलाई रोकेर समाजको कुलोमा बग्न थाल्यौँ।

यो नैतिक शिक्षाको जग कुनै प्रेम वा सद्भावमा अडिएको थिएन, यो त पूर्ण रूपमा डरको मनोविज्ञानमा ठडिएको थियो। आँगन छेउको अम्बाको रुखबाट छिमेकीको नसोधी एउटा अम्बा टिपेर खाँदा हामीलाई चोरको बिल्ला भिराइयो। अन्जानमा खुट्टाले किताब छुँदा विद्याकी देवी सरस्वती रिसाउँछिन् र ठूलो पाप लाग्छ भनेर तसाइयो। धर्मराजको अदालत, नर्कको आगो र चित्रगुप्तको खाताका भयानक कथाहरू सुनाएर हाम्रो निर्दोष चेतनामाथि निरन्तर कोरा बर्सइयो। हामीलाई ईश्वर यस्तो एउटा जासुस जस्तो लाग्न थाल्यो जसले अनन्त आकाशबाट हाम्रा हरेक गल्तीहरू मात्र चियाइरहेको छ र सजाय दिन ढुकेर बसेको छ। राति पिसाब फेर्न उठ्दा अँध्यारोमा भूत र पिसाचले तर्साउँछ भन्ने डरले हामी ओछ्यानमै खुम्चिएर पिसाब रोक्थ्यौँ। त्यो डर अँध्यारोको थिएन, त्यो डर त समाजले हाम्रो अवचेतनमा हुर्काइदिएको सजाय र पापको आदिम डर थियो।

डरको यो मनोविज्ञानले हामीलाई भित्रैदेखि दुई चिरामा पारिदियो। बीपी कोइरालाका मनोवैज्ञानिक पात्रहरू जस्तै हाम्रो भित्र एउटा आदिम मानिस थियो जसलाई आफ्ना नैसर्गिक इच्छाहरू पूरा गर्न मन लाग्थ्यो तर बाहिर एउटा सामाजिक मानिस थियो जसलाई समाजको र ईश्वरको डर लाग्थ्यो। यही गहिरो द्वन्द्वले हामीलाई पहिलोपटक झूट बोल्न सिकायो। हामीले आफ्ना गल्तीहरू लुकाउन थाल्यौँ। हामी असल थियौँ र झूट बोल्न सिक्नु भन्दा होइन, तर हामीलाई सत्य बोल्दा पाइने सजायको यति धेरै डर देखाइयो कि हामीले बाँच्नकोलागि झूठको सहारा लिनुपर्यो। भैरव अर्यालले आफ्ना निबन्धहरूमा व्यङ्ग्य गरेझैँ, गाउँका ठूला मानिसहरू आफू दिनभरि पाखण्ड र झूटको खेती गर्थे तर हामीलाई सत्य बोल्ने उपदेश दिन्थे। उनीहरूको आफ्नै जीवन स्वार्थले भरिएको थियो तर उनीहरू हामीबाट युधिष्ठिरको नैतिकता खोज्थे। हामीले बिस्तारै बुझ्दै गयौँ कि समाजमा असल देखिनु भनेको गल्ती नगर्नु होइन रहेछ, बरु गल्ती गरेर पनि कसैले नदेखोस् गरी लुकाउन जान्नु पो रहेछ।

हामी जति हुर्कँदै गयौँ, यो सही र गलतको मान्यता कति खोक्रो र सापेक्ष रहेछ भन्ने सत्य खुल्दै गयो। एउटा गाउँमा जुन कुरा धर्म थियो, खोलापारिको अर्को गाउँमा त्यही कुरा पाप हुन्थ्यो। एउटा समयमा जुन कुरा अपराध थियो, अर्को समयमा त्यही कुरा महानता मानिन्थ्यो। शङ्कर लामिछानेको अस्तित्ववादी चस्माबाट हेर्दा यो सम्पूर्ण नैतिकता मानिसले आफ्नो अहङ्कार, सम्पत्ति र सत्ताको रक्षा गर्न बनाएको एउटा कृत्रिम जालो मात्र थियो। ब्रह्माण्डको विराट् शून्यतालाई हाम्रा यी साना नैतिक नियमहरूसँग कुनै सरोकार थिएन। अनन्त आकाशमा घुमिरहेका ताराहरू र गहिरा महासागरहरूले हाम्रो पाप र धर्मको हिसाब राखेका थिएनन्। तर हामी भने त्यही मानवनिर्मित डरको साङ्लोमा बाँधिएर आफ्नो सम्पूर्ण जीवन बिताउन अभिशप्त थियौँ। हामीले आफ्नो स्वतन्त्रतालाई नैतिकताको नाममा समाजको पाउमा चढाइसकेका थियौँ।

आज हामी बाहिरबाट जतिसुकै सभ्य, अनुशासित र नैतिकवान् देखिए पनि भित्रभित्रै हामी डरले काँपिरहेका काँतर मानिसहरू हौँ। हामीले कुनै गल्ती गर्दैनौँ किनभने हामीसँग गल्ती गर्ने साहस र स्वतन्त्रता नै छैन। हाम्रो नैतिकता प्रेमबाट वा सत्यको बोधबाट निसृत भएको होइन, यो त समाजको तिरस्कार र ईश्वरको दण्डबाट बच्न हामीले ओढेको एउटा बाक्लो कम्बल मात्र हो। पारिजातले अस्तित्वको निरर्थकतालाई जसरी उतार्नुभयो, आज हाम्रो यो नैतिक जीवन पनि त्यस्तै निरर्थक र खोक्रो बनेको छ। हामीले समाजको नियम त अक्षरशः पालना गर्यौँ तर आफ्नै अन्तरात्माको मधुर आवाजलाई भने सदाकालागि घाँटी निमोठेर मारिदियौँ। हामी एउटा यस्तो मेसिन बन्यौँ जसले समाजको आदेशलाई मात्र सही मान्छ र आफ्नो प्राकृतिक लयलाई अपराध ठान्छ।

के तपाईंलाई कहिल्यै लाग्दैन हामीले जीवनभर जसलाई नैतिकता मानेर पालना गरिरहेका छौँ त्यो केवल हाम्रो भित्र लुकेको काँतरपन र सजायको डरको अर्को सुन्दर नाम मात्र हो? के हामीले यो पाप र धर्मको नक्कली तराजुलाई फ्याँकेर कुनै दिन साँच्चै नै डरविनाको पूर्ण र स्वतन्त्र जीवन बाँच्न सक्नेछौँ वा यो समाजको डरले चितासम्मै हामीलाई पछ्याइरहनेछ?